ओन्टारियो क्रिकेट एकेडेमीविरूद्वको अभ्यास खेलमा नेपाल विजयी

एजेन्सी, १८ असार । क्यानडियन क्लब ओन्टारियो क्रिकेट एकेडेमीविरूद्वको अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले शनिबार विहान सम्पन्न खेलमा ६९ रनको जित हात पारेको हो ।
२२१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्र बनाउन सक्यो । उसका लागि रियाज खान पठानले सर्वाधिक ३६ रनको योगदान दिए ।
कप्तान नरेश बुढाएरले २९,निकोलस मनोहरले २५ र जश शाहले २० रन जोडे । नेपालका लागि पवन सर्राफले तीन, किशोर महतो र आरिफ शेखले दुई ÷दुई विकेट हात पारे ।
त्यसअघि किङ्ग सिटीस्थित मेपल लिफ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २२० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले अर्धशतकीय पारी खेले । ५९ बलको सामना गरेका उनले आठ चौकासहित ५७ रन बनाए ।
आसिफ शेखले ४२, देव खनालले २७ र बसिर अहमदले २४ रन जोडे । ओन्टारियोका लागि शिलत पटेलले तीन तथा अमर खालिद, किनान्न टिन्टो, जाडे पड्मोर र दर्शिल पटेलले एक÷एक विकेट लिए ।
नेपालले अब जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । क्यानडामा खेलेपछि नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।
नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाइ र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


