जनकपुरधाम, १८ असार । लोक सेवाको परिक्षामा मधेसका महिलाहरुले राम्रो नतिजा ल्याउन नसकिरहेको बेला मधेस प्रदेश सरकारले प्रदेशका ४ सय महिलाहरुलाई लोक सेवा परीक्षाको तयारी गराउन थालेको छ ।

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सञ्चालित लोक सेवा तयारी कक्षामा प्रदेशभरिमा खरिदार सुब्बाको गरि ४ सय महिलाले तालिम लिइरहेको कार्यक्रमका संयोजक प्रियंका यादवले जानकारी दिइन् ।

मधेस सरकारको महत्वकांक्षी योजना अनुरुप सञ्चालित लोक सेवा कक्षामा प्रत्येक जिल्लामा २५ जना खरिदार र २५ जना सुब्बाको तयारी कक्षामा सहभागी भएका छन् ।

जेठ १९ गतेदेखी सुरु भएको लोक सेवा तयारी कक्षा सप्तरीको रा.ठा.जो भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप मावि जनकपुरधाम, महोत्तरीको विणा विद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलंगवा, रौतहटको गौरीशंकर यादव रौतटह क्याम्पस गौर, बाराको पन्ना देवी कन्या मावि कलैया र पर्साको सुन्दरमल्ल रामकुमार कन्या मावि वीरगञ्जमा कक्षा सञ्चालन हुँदै आएको छ ।

लोक सेवा तयारी कक्षाले लोक सेवाको परिक्षामा सहभागी हुने विद्यार्थीहरुको मनोबल उच्च पार्नुका साथै परिक्षाको सटिक तयारी गराउने विश्वास लिइएको छ ।

प्रदेश लोक सेवामा ५० प्रतिशत महिलाहरुका लागि गरेको आरक्षणमा योग्य महिलाहरु प्रवेश गराउन लोक सेवा तयारी कक्षा सहायक हुने अपेक्षा प्रदेश सरकारले राखेको छ ।

यसअघि मधेस सरकारले आर्थिक वर्ष २०७५/७६ मा १०० जना र ०७६/७७ मा ३५० जना महिलाहरुलाई लोक सेवाको तयारी कक्षा गराइसकेको छ ।