जनकपुरधाम, १७ असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट हुनसक्ने जनधनको क्षति न्युनिकरणका लागि तयारी अवस्थामा बस्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मधेस प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा बन्दिपुरस्थित कमला व्यारेजमा आयोजित प्रदेश स्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गर्दै मुख्यमन्त्री राउतले सुरक्षा निकायहरुले विपद् प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको भन्दै सो निर्देशन दिएका हुन् ।

उनले भने, ‘हाम्रो तयारी राम्रो छ, तसर्थ विपद्को समयमा हुनसक्ने जनधनको क्षति न्युनिकरणका लागि व्यवहारमा लागु गर्न तयारी अवस्थामा बस्नु पर्दछ ।’

प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेस प्रदेशमा विपद् न्युनिकरणका लागि तीनै तहका सरकारहरु बीच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा मुख्यमन्त्री राउतको जोड थियो ।

बाढीबाट वर्षेनी जोखिममापर्दै आएको क्षेत्रको पहिचान अहिले नै गर्नुपर्ने उल्लेख गर्दै राउतले जोखिम न्युनिकरणका लागि गर्नु पर्ने पूर्व तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिए ।

उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वाढीबाट जनधनको क्षति न्युनिकरणका लागि गरिने प्रयासहरु बारे विभिन्न नमूनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाका नं. २७ बाहिनीका बाहिनीपति भरत जंग गुरुङ्ग, गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह लगायत विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरुको उपस्थिति रहेको थियो ।