एजेन्सी, १६ असार । भारतको महाराष्ट्रमा शिवसेनाका बागी नेता एकनाथ शिन्दे मुख्यमन्त्री बन्ने भएका छन् ।

पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टी बीजेपीका नेता देवेन्द्र फडणवीसले शिन्दे मुख्यमन्त्री बन्ने र आफूहरुले समर्थन गर्ने घोषणा गरेका हुन् ।

फडणवीससँगको संयुक्त पत्रकार सम्मेलनमा शिन्देले महाराष्ट्रको विकासका लागि बीजेपीसँग हातेमालो गरेको बताए ।

उनले भने, ‘म मन्त्री थिएँ, मलाई कुनै समस्या थिएन, तर जब जनताले मसँग आएर महाराष्ट्रको बारेमा चिन्ता जनाए त्यसपछि मैले यो निर्णय गर्नु प¥यो ।’

वीजेपीले ठूलो दल भएर पनि आफूलाई मौका दिएको भन्दै शिन्देले वीजेपीको प्रसंशा गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहलाई धन्यवाद पनि दिएका छन् ।

उनले शिव सेनाका नेता निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेलाई समस्या बताउन चाहे पनि सफल नभएको बताए । महाराष्ट्रमा बलियो सरकार बनाउने दाबी गर्दै उनले बाला साहब ठाकरेको विचारलाई अघि बढाउने प्रतिवद्धता पनि जनाए । बाला साहब शिव सेनाका संस्थापक नेता हुन् ।

बाला साहबाका छोरा उद्धवले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । शिन्देसहितका केही सांसदले विद्रोह गरेपछि उद्धवको सरकार संकटमा परेको थियो । उद्धवले कंग्रेस आई र क्षेत्रीय दल नेशनल कंग्रेस पार्टीसँग मिलेर महाराष्ट्रको सरकार चलाइरहेका थिए ।

उद्धवले राजीनामा गरेपछि फडणवीस मुख्यमन्त्री बन्ने अनुमान गरिए पनि उनले शिन्देलाई अघि सारेका हुन् ।