जनकपुरधाम, १६ असार । स्वास्थ्य सेवामा समुचित लगानी नभए देशको गरिबी घटाउन कठिन हुने जनकपुरधाममा बिहीबार आयोजित एक कार्यक्रममा विज्ञहरूले औँल्याएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले ‘स्वास्थ्यमा लगानी बढाऔँ, कसैलाई पनि सेवाबाट वञ्चित नगरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको नीतिगत संवाद कार्यक्रममा बोल्दै विज्ञहरूले यस्तो बताएका हुन् ।

कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी हुनु पर्ने र यसमा तीनै तहको सरकारको सहभागिता नभएसम्म मुलुकको गरिबी घटाउन कठिन हुने सहभागीहरुले बताए ।

स्वास्थ्यको वित्तीय सुरक्षाका प्राध्यापक डा.शिवराज अधिकारीले स्वास्थ्य सेवामा गरिबको पहुँच नभए उनीहरुले स्वास्थ्य उपचारमा गर्ने खर्चले गरिबी थप बढाउने बताए ।

उनले स्वास्थ्य सेवामा सबैको समान तथा सहज पहुँच हुनु पर्नेमा त्यसो हुन नसकेको भन्दै दुःखसमेत व्यक्त गरेका छन् ।

स्वास्थ्य विज्ञ महेन्द्रप्रसाद श्रेष्ठले तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रको विकासमा कम्तीमा पनि कूल बजेटको १० प्रतिशत लगानी गर्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्य सेवालाई सुलभ बनाएर जनताको पहुँच बढाउनका लागि उचित बजेट व्यवस्थापन गरेको दावी गरे ।

त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले गुणस्तरीय स्वास्थ्यमा आम जनताको पहुँच बढाउनका लागि पालिकाहरूसँग समन्वय गर्ने बताए ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले मधेस प्रदेशको स्वास्थ्य संस्थाहरूको स्तर वृद्धिका साथै प्रादेशिक अस्पताल जनकपुरधामलाई टिचिङ अस्पतालको रुपमा परिणत गर्ने कामसहित प्रतिष्ठान अगाडी बढेको बताए ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ५९ गाउँपालिकाको ३५९ वडामा एच.ए. तथा स्टाफ नर्सको दरबन्दी सृजना गरेर घर घरमा जनताको नियमित स्वास्थ्य उपचार गर्ने बताए ।

कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू, वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्य कार्यालय तथा अस्पतालका मेडिकल अधिकृतहरूको सहभागिता रहेको थियो ।