एजेन्सी, १५ असार । अभिनेत्री मनिषा कोइरालाको अभिनय रहने वेब सिरिज ‘हिरामण्डी’को छायांकन सुरु भएको छ ।

करिब दुई सय करोडको लगानीमा बनिरहेको वेब सिरिजको सुरुवात मनीषा र अदिति राव हैदरीको दृश्य खिच्दै सुरु गरिएको हो ।

वेब सिरिजकै लागि कत्थक नृत्यको प्रशिक्षण लिइरहेकी ऋचा चड्डा चाँडै सिजिमा जोडिनेछिन् । यो वेब सिरिज ‘सेक्रेट गेम्स’पछिको हालसम्मै महत्वाकांक्षी प्रोजेक्ट हो ।

सिरिजका लागि मुम्बईमा दुई विशाल र भव्य सेट बनाइएको छ । यसमध्ये एक सेटमा सिरिजको पहिलो सेड्युल खिचिनेछ । पहिलो दिन मनीषाले सिरिजको श्रीगणेश गरिन् । उनीसँगै अदितिले पनि सहभागिता जनाइन् ।

सुटिङको सुरुवात मुजरेबाट गरिएको छ । यो गीत हप्ता दिन लगाएर छायांकन गरिनेछ । त्यसपछि मात्र अन्य कलाकार सिरिजमा जोडिनेछन् ।

सञ्जयलीला भन्सालीको निर्देशन रहने सिरिजमा हुमा कुरैशीको पनि अभिनय छ । यो सिरिजबाट निर्देशक भन्साली ओटिटीमा डेब्यु गर्दै छन् । उनले सिरिजकै लागि करिब ७० करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।