काठमाडौं, १५ असार । साफ यू–२० पुरुष च्याम्पियनसिपमा नेपालका दुई रेफ्रीले खेल खेलाउने भएका छन् ।

नेपालबाट फिफा रेफ्री प्रज्वल क्षेत्री र सहायक फिफा रेफ्री किशन कनैया यादवले रेफ्रीको भूमिका निर्वाह गर्ने भएका हुन् ।

दक्षिण एसिया फुटबल फेडेरेसनले रेफ्री क्षेत्री र यादवलाई च्याम्पियनसिपका लागि रेफ्रीको रुपमा छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । क्षेत्री र यादवले गत वर्ष फिफा रेफ्री ब्याच प्राप्त गरेका थिए । भारतमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल २५ जुलाईमा हुनेछ । नेपालले श्रीलंकासँग २७ जुलाई, भारतसँग ३१ जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग २ अगस्टमा खेल्नेछ । उपाधिका लागि शीर्ष दुई टोलीले ५ अगस्टमा प्रतिस्पर्धा गर्नेछन् ।