लोसपा नेपालको मधेस प्रदेश समिति बैठक सम्पन्न, विभिन्न विषयहरुमाथि छलफल

जनकपुरधाम, १३ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश समिति बैठक सोमबार जनकपुरधाममा सम्पन्न भएको छ ।
बैठकमा संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको समिक्षा, पार्टीको सांगठनिक अवस्थालगायतका विषयहरुमाथि छलफल गरिएको हो ।
बैठकमा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मत र आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा अन्य पार्टीसँग चुनावी तालमेल गर्नेलगायतका विषयमाथि समेत छलफल गरिएको पार्टीका प्रमुख सचेतक समेत रहेका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।
उनले यी विषयहरुमाथि छलफल गेरेर केन्द्रीय कमिटीलाई प्रतिवेदन पठाउने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकमा बोल्दै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव काँग्रेस र कम्युनिष्टसँग मिलेर मधेसलाई कमजोर बनाएको आरोप लगाए ।
उनले भने, ‘मधेस आन्दोलनमाथि दमन गरेका कांग्रेस र कम्युनिष्टसँग मिलेर उपेन्द्र यादवको पार्टीले सत्ताका लागि मधेसलाई कमजोर बनाउने काम गरेकोे छ । अब मधेसलाई कमजोर गर्ने को हो ? भन्ने कुरा मधेसी जनतालाई बुझाउन जरुरी छ ।’
नेता सोनलले मधेस आन्दोलनको मुद्दामाथी कुठाराघात गरेर पटक पटक धोका दिएकाहरुको असली चरित्र जनतालाई देखाउन र मधेसवादका लागि सक्रिय रहन नेता कार्यकर्तालाइ आग्रहसमेत गरेका छन् ।
बैठकमा प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी, जानकी शरण साह, जयनुल राइन, प्रदेश सचिव रामबिनोद चौधरी लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


