जनकपुरधाम, १३ असार । नेकपा एमालेले अनियन्त्रित महँगी र पेट्रोलियम पद्धार्थमा हुने गरेको पटक पटकको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

सोमबार स्थानीय जनकचोकमा नेकपा एमाले नगर कमिटीले विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अत्यावश्यक दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पद्धार्थमा पटक पटक मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम मात्र गरेको आरोप लगाउँदै तत्काल महँगी नियन्त्रण गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

नेकपा एमालेको जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले भान्सामा प्रयोग हुने सामग्रीको व्यापकरुपमा मूल्यवृद्धि हुँदासमेत सरकारले बेवास्ता गरेको भन्दै तत्काल पूर्ण कर हटाउन माग गरेका छन् ।

उनले किसानले अन्नबाली उब्जाउनका लागि सहजरुपमा पाउनुपर्ने मलखाद्य समेतबाट वञ्चित हुनुपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

स्थानीय जनकचोकबाट निस्केको विरोध जुलुस शिव चोक, भानु चोक, कदम चोक, विसहारा चोक, विद्यापति चोक, भैरव चोक, राम चोक, सोनारपट्टी हुँदै पुनः जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।