काठमाडौं, १३ असार । नवनियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई दिइने सेवालाई थप प्रभावकारी बनाउने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नवनियुक्त मन्त्रीको स्वागत र पूर्व मन्त्रीको बिदाइ कार्यक्रममा बोल्दै मन्त्री खापुङले यसअघिको ९ महिने कार्यकालमा भएका कमी कमजोरीहरुलाई सच्याउँदै आगामी दिनमा जनताको सेवालाई प्राथमिकता दिने बताएका हुन् ।

यो अवधिमा काम गर्दा केही अनुभव लिएको भन्दै उनले नागरिकलाई सकेसम्म सर्वसुलव र गुणस्तरीय सेवा प्रदानगर्न आवश्यक कानूनी जटिलताको अन्त्य गर्ने बताए ।

मन्त्री खापुङले गाउँका दूदराजका कतिपय ठाउँमा सामान्य रोगको पनि उपचार नपाएर, जानकारी नभएर वा रोग पत्ता नलागेका कारण र हस्पिटल जान नसकेका कारण मृत्यु हुने बिरामीलाई केन्द्रीत गरेर गाउँ क्षेत्रमा स्वास्थ्य शिविर लैजाने कुरा प्राथमिकतामा रहने पनि जानकारी दिए ।

त्यसैगरी, उनले केही डरलाग्दा रोगहरु क्यान्सर, मुटु रोग, मिर्गौला रोगका बिरामीहरुलाई सेवा पु¥याउने, राज्यको साधन स्रोतले भ्याएसम्म सर्वसुलभ र सहज रुपमा ती रोगका बिरामीहरुको उपचार गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने बताए ।