पर्सा, १३ असार । वीरगञ्जको नारायणी अस्पतालले चालु आर्थिक वर्षको ११ महिनामा १ हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।

अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो ।

गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएको छ ।

चालु आवको असार १० गतेसम्म ५०० भन्दा डा. सिंहले जानकारी दिए । उनले गरिब तथा विपन्न नागरिकको उपचारमा १९ लाखभन्दा बढी रकम हालसम्ममा खर्च भइसकेको बताए ।

निःशुल्क उपचार योजनाले धेरै नगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा. सिंहको भनाइ छ ।