काठमाडौं, १२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नयाँ मन्त्री नियुक्ति र कार्यविभाजन गरेको राष्ट्रपतिको कार्यालय जनाएको छ ।

नेकपा एकीकृत समाजवादीको सिफारिस अनुसार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

तीन साताअघि एकीकृत समाजवादीको सचिवालयले आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेकालाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो ।

जसअनुसार देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ मन्त्रीमा बढुवा भएका छन् ।

त्यस्तै, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास र शेरबहादुर कुँवर श्रममन्त्री बनेका छन् ।त्यस्तै, हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त भएकी छन् ।

पार्टीको निर्णयअनुसार पर्यटन मन्त्री रहेका प्रेम आले, स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा, शहरी विकासमन्त्री रहेकी रामकुमारी झाँक्री र श्रममन्त्री रहेका किसान श्रेष्ठ फिर्ता भएका छन् ।