काठमाडौं, १२ असार । ‘बहुभाषिक नाट्य महोत्सव–२०७९’ आइतबारबाट सुरु भएको छ । काठमाडौंको थापागाउँ स्थित गुरुकुलको नाटक घरमा सुरु भएको महोत्सव १८ असारसम्म चल्नेछ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भइरहेको महोत्सवमा ७ नाटक प्रदर्शन हुनेछ । महोत्सवका लागि चयन भएका नाटकमा खस भाषा, लेप्चा भाषा, तामाङ भाषा, थारु भाषा, वाम्बुले राई भाषा, पुमा राई भाषाका रहेको महोत्सव संयोजक तथा प्रतिष्ठानको नाट्य तथा रंगमञ्च विभागकी सदस्य निशा शर्माले जानकारी दिइन् ।

महोत्सवमा पहिलो दिन आज फिक्कलमा रहेको लाप्चा उत्थान मञ्च इमालको प्रस्तुतिमा लाप्चा भाषाको नाटक स्वर्ग जाने सिँढी मञ्चन भएका छन् । १३ गते कुन्दन थारुको निर्देशनमा रौतहटको थारु समुदायको नाटक कनन लता, १४ गते ओखलढुंगाबाट वाम्बुले राई भाषाको नाटक सुम्निमा, १५ गते धरानबाट तामाङ भाषाको नाटक डम्फुला, १६ गते पुमा राई भाषाको नाटक होङछा, १७ गते इलामबाट चेतन आङथुपो मञ्चन हुनेछ ।

महोत्सवको अन्तिम दिन १८ असारमा दिपेन्द्र उपाध्यायको निर्देशनमा जुम्लाबाट खस भाषाको नाटक कुटिरो मञ्चन गरिने कार्यक्रम छ । नाटकलाई कर्णाली खस संस्कृति संरक्षण मञ्चले प्रस्तुत गर्ने भएको छ ।

महोत्सवमा सहभागी हुने नाटकहरूलाई प्रतिष्ठानले मञ्चन खर्च स्वरुप प्रति टोली ५० हजार रुपैयाँ प्रदान गर्ने छ । महोत्सवमा सहभागी नाट्य टोलीलाई काठमाडौंमा बस्ने र खाने व्यवस्था आफुहरुले गर्ने पनि शर्माले बताइन् । महोत्सवको सह–आयोजकमा आरोहण गुरुकुल रहेको छ ।