काठमाडौं, १२ असार । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । यसपालि पनि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टिममा मौका पाएनन् ।

सुनिल धमला, सुवास खकुरेल र सागर ढकाल टोलीबाट बाहिरिएका छन् । बसिर अहमद, किशोर महतो र पवन सर्राफले भने टोलीमा स्थान बनाएका छन् ।

सिरिज स्कटल्याण्डमा जुलाई १० देखि १७ सम्म हुनेछ । सार्वजनिक खेल तालिकाअनुसार नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाइ र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ ।

सिरिजअघि नेपालले क्यानडामा एक अभ्यास तथा दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छ । नेपालले १ जुलाईमा ओन्टारियो क्रिकेट एकेडेमी क्लबसँग अभ्यास तथा जुलाइ ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको हो ।

नेपाली टोली : सन्दीप लामिछाने(कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भर्तेल, आसिफ शेख (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, आरिफ शेख,देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी, बसिर अहमद र किशोर महतो ।