गैर अभिभावकद्वारा रामजानकी मावि झिटकहियाका प्रअ महरामाथि दुर्व्यवहार

जनकपुरधाम, १२ असार । धनुषाको औरही गाउँपालिका वडा नम्बर–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहियाका प्रधानाध्यापकलाई कालोमोसो गरी दुर्व्यवहार गरिएको छ ।
शनिबार आयोजित अभिभावक भेलामा गैर अभिभावकले भिड मच्चाई प्रधानाध्यापक मदन महरामाथी कालोमोसो गरेको हो ।
सो गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रम्ह्देव यादव निकटका व्यक्ति रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरामाथी कालोमोसो गरेको एक अभिभावकले बताए ।
विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर यादवले प्रधानाध्यापक महरामाथि गैर लोकतान्त्रिक शैलीमा हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको जनाइएको छ । सोही क्रममा विद्यालयका कार्यालय सहयोगी जितो यादवले प्रधानाध्यापकलाई बचाउन खोज्दा उनीमाथि पनि कुटपिट गरिएको बताइएको छ ।
प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मरम्मत सम्भारका लागि प्राप्त ३० लाख र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँलाई कुन हिसाबले सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि शनिबार आयोजित अभिभावक भेलामा अर्कै विषयलाई मुद्दा बनाएर गैर अभिभावक रामनाथ यादव र सुजित यादवले हो–हल्ला मच्चाई कुटपिटमा उत्रेको प्रधानाध्यापक महराले बताए ।
यसैबिच, शैक्षिक संस्था भित्रका आन्तरिक गतिबिधीमा गैर अभिभावबाट गरिने हस्तक्षेप अराजक क्रियाकलाप बन्द गर्न नेपाल शिक्षक संघ धनुषाले माग गरेको छ ।
घटनाको विद्यालय, शिक्षक, अभिभावकले समेत भत्र्सना गर्दै दोषी उपर कारवाहीको माग अघि सारेका छन् भने पीडित प्रधानाध्यापक महराले दोषीमाथि कारवाहीको माग गर्दै आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन लागेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


