जनकपुरधाम, ११ असार । जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिको सदस्यमा नेपाली कांग्रेसका दुई जना निर्वाचित भएका छन् ।

न्यायिक समितिको सदस्यमा कांग्रेसका उम्मेदवारहरू राकेश विक्रम साह र परमेश्वर साह विजयी भएका हुन् ।

सहमती नजुटेपछि निर्वाचन प्रक्रियामार्फत दुबैजना निर्वाचित भएका छन् । राकेशले ८६ मत ल्याउँदा परमेश्वरले ७५ मत पाएका हुन् ।

त्यस्तै नेकपा एमालेकी मुन्नी देवी दासले ४९, एमालेकै जुगेश्वर यादवले २७ र तमलोपाका दिपेन्द्र साहले ७ मत पाएका छन् ।

न्यायिक समितिमा सबभन्दा बढी ८६ मत ल्याएका राकेश विक्रम साहले कार्यपालिका सदस्यमा पनि ८६ मत ल्याएका थिए ।

न्यायिक समिति सदस्य चयनको निर्वाचनमा एमाले र कांग्रेस एक्ला एक्लै उभिएका थिए ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगर सभामा कांग्रेसबाट ७०, एमालेबाट ३६, लोसपा १०, स्वतन्त्र ६, जसपा ३, माओवादीबाट १ र तमलोपा १ गरी १२७ सदस्य निर्वाचित भएका थिए ।

उक्त निर्वाचनबाट निर्वाचित १२५ सदस्यले न्यायिक समिति सदस्य चयनका लागि मतदान गरेका थिए ।

न्यायिक समितिको काम :

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट तयार भई मन्त्रीपरिषदबाट पारित गरी संसदमा पेस गरिएको विधेयकअनुसार अधिकारक्षेत्र तोकी न्यायिक समितिलाई विवाद निरूपण गर्न संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्नेछन् । गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्ने छ ।

समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत सम्बन्धित सभा (गाउँ वा नगरसभा)मा पेस गर्नुपर्ने छ ।