काठमाडौं, १० असार । प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले अध्ययनको लागि प्रवेश परीक्षामा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट पूर्व स्वीकृति लिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य समन्वय महाशाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय तहको कानून नबनेसम्म स्वास्थ्य सेवा विभागबाट पूर्व स्वीकृति नलिई प्रवेश परीक्षामा सहभागी नगराउन निर्देशन दिएको हो ।

’प्रदेश र स्थानीय तहको कानून नबनेसम्म प्रदेश वा स्थानीय तह अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले समेत संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट पूर्व स्वीकृति नलिई प्रवेश परीक्षामा सहभागी नगराउन मन्त्रीस्तरीय निर्णयानुसार अनुरोध छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।