एजेन्सी, १० असार । युद्धग्रस्त सेभेरोदोनेत्स्क रुसी फौजसँग लडिरहेका युक्रेनी फौजलाई पछाडि हट्न निर्देशन दिएको लुहान्स्क क्षेत्रका युक्रेनी गर्भनरले बताएका छन् ।

रणनीतिक रुपमा महत्वपूर्ण यो सहरमा युक्रेनी फौजले हप्तौँदेखि रुसी फौजलाई रोकिराखेको थियो तर पछिल्लो समय रुसी फौजले पकड विस्तार गर्दै लगेको थियो ।

लुहान्स्कका गर्भनर शेरही हैदाईले फौज तत्काल सहरबाट बाहिरिनेछ कि निश्चित समयभित्र भनेर खुलाएका छैनन् । युद्धको सुरुमा युक्रेनको राजधानी कियभ कब्जा गर्न असफल भएपछि रुसले उसका फौजलाई पूर्वी प्रदेशः लुहान्स्क र दोनेत्स्क पूर्ण कब्जा गर्न केन्द्रीत गरेको छ ।

संयुक्त रुपमा दोनबास भनिने लुहान्स्क र दोनबास प्रदेशका केही क्षेत्र रुसी समर्थित पृथकतावादीको नियन्त्रणमा थियो । युक्रेनमाथिको रुसी अतिक्रमको सबैभन्दा ठूलो युद्ध सेभेरोदोनेत्स्क क्षेत्रमा भईरहेको छ । त्यहाँ विगत एक महिनादेखि सहरका भित्री सडकहरुमै युद्ध चलिरहेको थियो ।

मुख्य शहरमा रुसले नियन्त्रण कायम गरेपछि युक्रेनी फौजको नियन्त्रण सहरको औद्योगिक क्षेत्रमा मात्र सिमित थियो । ‘युद्धका कारण सहरका प्रमुख पूर्वाधारहरु ध्वस्त भएका छन् । झण्डै सहरका ८० प्रतिशत भवन भग्नावशेष भएका छन्,’ गर्भनर हैदाईले टेलिग्राममा लेखेका छन् ।

लुहान्स्क प्रदेशमा सेभेरोदोनेत्स्कपछि अब लिसिचान्स्कमात्र युक्रेनी नियन्त्रणमा बाँकी छ । युक्रेनको औद्योगिक क्षेत्रका रुपमा परिचित दोनवासमाथिको नियन्त्रणलाई रुस र पूर्वी युक्रेनमा सक्रिय पृथकतावादीले एक उदेश्यका रुपमा लिएका छन् ।