मधेस सरकारले बाढीपहिरोबाट पर्न सक्ने सम्भावित जोखिमको न्युनिकरण गर्न तयारी थाल्यो

जनकपुरधाम, ९ असार । मधेस प्रदेश सरकारले वर्षातको मौसममा बाढीपहिरो तथा डुबानबाट पर्न सक्ने सम्भावित जोखिमको न्युनिकरण गर्न तयारी थालेको छ ।
बाढीपहिरो तथा डुबानबाट पर्न सक्ने सम्भावित जोखिमको न्यूनिकरणका लागि बिहीबार गृह तथा सञ्चार मन्त्रालयले तीनैतहका सुरक्षा निकाय, स्थानीय प्रशासन, रेडक्रस लगायत सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।
बाढीको उच्च जोखिममा रहेका नदी किनारका वस्ती, चुरे उजाड क्षेत्रको छेउछाउका वस्ती, गहिरो तथा सीमावर्ती क्षेत्रमा डुबानमा पर्ने जस्ता वस्तीलाई लक्षित गरी विपद न्युनिकरण तथा उद्धारका लागि पूर्व तयारी स्वरुप सरोकारवालाहरुसँग छलफल गरिएको गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
बैठकबाट मधेस प्रदेशमा कम्तिमा एउटा हेलिकप्टर २४ घण्टा स्टेण्डवाई राख्नका लागि नेपाली सेनालाई सिफारिस गर्ने, प्रत्येक पालिकामा कम्तिमा एउटा हेलिप्याड अनिवार्य बनाउने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।सकेसम्म सबै वडामा हेलिप्याड बनाउन प्रयास गर्ने, नभए कम्तिमा पालिकामा एउटा अनिवार्य बनाइने उनले बताए ।
उनले मनसुनजन्य विपदबाट हुने सम्भावित जनधनको क्षति न्युनिकरणका लागि सुरक्षा निकायका हरेक युनिटलाई उद्धार सामग्री उपलब्ध गराउने, सुरक्षा निकायमा र्यापिड रिस्पोन्स टिम परिचालनका लागि मेडिकल सामग्री उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्ने निर्णय भएकोसमेत जानकारी दिए ।
असार १७ गतेदेखि मनसुनजन्य विपद उद्धारका लागि कमला नदीमा पूर्वअभ्यास गर्ने, विपदबाट बच्न जनचेतना फैलाउन विपद सम्बन्धि स्थानीय भाषामा अडियो तथा भिडियो सामग्री उत्पादन एवं प्रशारण गर्ने जस्ता निर्णय भएको सचिव महतोले बताए ।
यसपटक बाढीपहिरो, डुबान जस्ता जोखिम हुने देखिएकाले गृह तथा सञ्चार मन्त्रालय पूर्व तयारीमा जुटेको मन्त्री साहले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


