मन्त्री महतोले शिलान्यास गरेको एक दिन नबित्दै फुटबल मैदान निर्माणको काम रोकियो

जनकपुरधाम, ८ असार । मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले शिलान्यास गरेको एक दिन नबित्दै फुटबल मैदान निर्माणको काम रोकिएको छ ।
सोमबार धनुषाको मिथिला नगरपालिकास्थित लालगढको एक खाली जग्गामा फुटबल मैदान निर्माणका लागि मन्त्री महतोले शिलान्यास गरेको एक दिन नबित्दै निर्माण कार्य रोकिएको हो ।
वन कार्यालय धनुषाले सो जग्गा आफ्नो रहेको दाबी गर्दै काम रोकाएको छ । सो ठाउँमा खेलकुद मैदान निर्माण गर्न उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट ५० लाख रुपैयाँ छुट्टयाइएको थियो ।
मन्त्री महतोले शिलान्यास गरेर फर्केको केहीबेरमै खेलकुद मैदान निर्माण गर्न जेसिबी लगाएर डाँडा भत्काउन थालेपछि वन उपभोक्ता समिति र वन कर्मचारीले काम रोक्न लगाएका छन् ।
धनेश्वरी महिला सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेको छ । नियमित गस्तीको क्रममा वन कर्मचारीले डाँडा भत्कार फुटबल मैदान बनाउन लागेको देखेपछि तत्कालै वन उपभोक्ता समितिलाई पत्राचार गरेका थिए ।
पत्रमा वनको जग्गामा निर्माण कार्य, ढुङ्गा, माटो, उत्खनन गर्ने काम निषेध गरिएको अवस्थामा त्यहाँ के कसरी खेलकुद मैदान निर्माण भइरहेको सम्बन्धमा जानकारी माग गरेपछि उपभोक्ता समितिका पदाधिकारीले तत्कालै काममा रोक लगाएको बताइएको छ ।
सो ठाउँमा फुटबल मैदान निर्माण गरिए रूखहरू र बाँसघारी कटान हुने तथा वनको जग्गा अतिक्रमण हुने देखेर वन कार्यालयले ती फुटबल मैदानको निर्माण कार्य सामुदायिक वन समितिको सहयोगमा रोक्न लगाएको डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुरेश शर्माले बताए ।
त्यस्तै, फुटबल मैदान निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर थापाले मैदान निर्माण हुने सो जग्गामा विवाद भएपछि अब निर्माण कार्य नहुने बताएका छन् । अध्यक्ष थापाले फुटबल मैदान निर्माण गर्न लागिएको जग्गा २१ वर्ष अघि नै तत्कालिन गाविसबाट खेलकुद मैदानका लागि छुट्टयाइएको बताए ।
यस सम्बन्धमा मन्त्री महतोले भने, ‘सोही वनको जग्गामा मन्दिर र कुष्ठरोग अस्पताल पनि छ । तर, त्यसमा कसैलाई आपत्ति भएन ।अहिले फुटबल मैदान बन्न लाग्दा रोक लगाएको मैले पनि सुनेको छु । वास्तविकता बुझेर थप केही भन्छु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


