जनकपुरधाम, ८ असार । धनुषा जिल्लामा बिहीबारदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ ।

बुधबार स्वास्थ्य कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

पहिलो चरणमा देशभरका २७ जिल्लासहित मधेस प्रदेशका ५ जिल्लामा सञ्चालन हुने सो खोप कार्यक्रम अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको छ ।

प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७१६ जनसंख्या रहेपनि पहिलो चरणमा ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २३६ बालबालिकालाई खोप दिइने छ ।

धनुषामा भने १ लाख १३ हजार ८९५ बालबालिकालाई १ हजार २४० खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका निमित्त प्रमुख युगलकिशोर यादवले जानकारी दिए ।

लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउँदै उनले पहिलो खोप असार ९ देखि १३ गतेसम्म र दोस्रो मात्रा साउन ९ देखि १३ गतेसम्म दिइने जानकारी दिए ।

निमित्त प्रमुख यादवले ५ देखि ११ वर्षसम्मका लागि बालबालिकालाई दिइने फाइजर पेडियाट्रिक नामक कोरोनाविरुद्धको खोप सुरक्षित रहेको दाबी गर्दै कोरोनाबाट बचाउन लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन आग्रह गरे ।

नेपाल सरकारले निर्दिष्ट गरे अनुसार लक्षित बालबालिकालाई उनी अध्ययनरत विद्यालयमै खोप दिइनेछ । ती बालबालिकाहरुलाई उमेर खुलेका विद्यालयको प्रमाण, कक्षागत सूचीको आधारमा खोप दिइनेछ । यदि उमेर खुलेको छैन भने अभिभावकले स्वघोषणा गरेको उमेरको आधारमा खोप लगाइने छ ।

दोस्रो चरणमा देशभरका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने छ ।
फाइजर खोपको पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।

यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।