काठमाडौं, ६ असार । एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

आज सम्पन्न खेलमा बहराइनमाथि आठ विकेटको जितसँगै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

१५ रनको सामान्य लक्ष्य नेपालले ३.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि सीता राना मगरले चार तथा कविता जोशीले अविजित तीन रनको योगदान दिए ।

बहराइनका लागि पवित्रा सेट्टी र भिलिसटा बार्बोजाले एक/एक विकेट लिए । त्यसअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित सात ओभरमा सात विकेट गुमाउँदै १४ रन बनायो । वर्षाका कारण समयमै टस हुन नसकेपछि खेललाई सात ओभरमा झारिएको हो ।

बहराइनका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि इशारा सुहुनले सर्वाधिक ६ रन जोडिन् । नेपालका लागि सबनम राई र कविता कुवँरले दुई र दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए ।

यो जितसँगै समूह ‘बी’ को नेपाल तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा कायम छ । यसअघि यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले हराएको थियो ।

पराजित बहराइन समान खेलबाट एक अंकका साथ चौथो स्थानमा छ । यसअघि बहराइनले कुवेतसँगको खेल बिना नतिजा टुंग्याउँदा हङकङसँग आठ विकेटको पराजय बेहोरेको थियो ।

अब समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार हङकङ तथा बहराइनले बुधबार भुटानको सामना गर्नेछन् ।