एजेन्सी, ६ असार । नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टोलीका कप्तान पिटर सीलारले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

नेदरल्याण्ड्स क्रिकेटले कप्तान सीलारले सन्यास घोषणा गरेको जनाएको हो ।

पछिल्लो समय देखिएको ढाडको चोटका कारण उनले सन्यास लिएको बताइएको छ । ३४ वर्षीय अलराउन्डर सीलारले नेदरल्याण्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

सन् २००६ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको सुरुवात गरेका उनले भर्खरै इंग्ल्याण्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२२ रन बनाउनुका साथै ५५ विकेट हात पारेका छन् । सन् २००८ मा केन्याविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सीलारले गत वर्ष श्रीलंकाविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए ।

उनले टी–२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित ५९१ रन बनाउनुका साथै ५८ विकेट लिएका छन् ।