सर्लाही, ५ असार । सर्लाहीको दक्षिण पश्चिम क्षेत्र धन्कौलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

आइतबार बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा सोही स्थानका ७० वर्षका महेन्द्र राय गम्भीर घाइते भएका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा बृन्दाबन नगरपालिका–४, का ४ वर्षका अमितकुमार यादव, १४ वर्षकी मिराकुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कंदै गर्दा उनीहरू सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । अनियन्त्रित भएर कार दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।