एजेन्सी, ४ असार । दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिजको चौथो खेलमा घरेलु टोली भारत ८२ रनले विजयी भएको छ । भारतको यो जितसँगै पाँच खेलको सिरिज २–२ को रोमाञ्चक स्थितिमा पुगेको छ । अब सिरिज विजेताको टुङ्गो अन्तिम खेलले लगाउनेछ ।

गएरातीको खेलमा १७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो । उसका लागि लागि रस्सी भान डेरले २०, क्विनटन डि ककले १४ र मार्को जेनसेनले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि आवेश खानले चार, युजवेन्द्र चहलले दुई तथा हर्षल पटेल र अक्षर पटेलले विकेट लिए । यसअघि सौराष्ट्र क्रिकेट ऐसोसिएसन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय पारी खेले । उनले २७ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । हार्दिक पाण्डेयले ४६, इशान किसन २७ र कप्तान ऋषभ पन्तले १७ रन जोडे ।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले दुई तथा मर्को जेनसेन, ड्वेन प्रिटोरियस र केशव महाराजले एक÷ एक विकेट लिए । यसअघि दक्षिण अफ्रिकाले सात र चार विकेट र भारतले ४८ रनको जित हात पारेका थिए । पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।