एजेन्सी, ४ असार । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा इंग्ल्याण्डले नेदरल्याण्ड्समाथि २३२ रनको फराकिलो जित निकालेको छ ।

शुक्रबार ४९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्सले ४९. ४ बलमा सबै विकेट गुमाउँदै २६६ रन मात्र बनाउन सक्यो ।

उसका लागि स्कट एडवार्ड्सले अविजित ७२ रनको योगदान दिए । उनले ५६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । म्याक्स ओडेडले ५५ बलमा ६ चौका र दुई छक्कासहित ५५ रनको अर्धशतकीय पारी खेल्दा बास डी लिडेले २८ र कप्तान पिटर सिलारले २५ रन जोडे ।

इंग्ल्याण्डका लागि मोइन अलीले तीन, डेभिड विली, रिस टोप्ले र साम करणले दुई ÷दुई तथा डेविड मलानले एक विकेट लिए ।

त्यसअघि भिआरए मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रन बनाएको थियो । यो एकदिवसीय अन्तर्राष्ट्रियको सबैभन्दा ठुलो योगफल हो ।

इंग्ल्याण्डले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेको हो । उसले यसअघि २०१८ मा अस्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४८१ रनको कीर्तिमान बनाएको थियो । उसका लागि जोस बट्लर, डेविड मलान र फिल साल्टले शतकीय तथा लियम लिभिङ्गस्टोनले अर्धशतकीय पारी खेले ।

१६२ रनमा अविजित रहेका बट्लरले ७० बलमा १४ छक्का र सात चौका प्रहार गरे । मलानले १०९ बलमा नौ चौका र तीन छक्कासहित १२५ तथा साल्टले ९३ बलमा १४ चौका र तीन छक्कासहित १२२ रनको योगदान दिए ।

६६ रनमा अविजित रहेका लिभिङ्गस्टोनले २२ बलमा समान ६ चौका र छक्का प्रहार गरे । नेदरल्याण्ड्सका लागि पिटर सिलारले दुई तथा लोगान भान बिक र शेन स्नेटरले एक÷एक विकेट हात पारे ।

यो जितसँगै इंग्ल्याण्डले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।