खोटाङ, ४ असार । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानाध्यापक लक्ष्मी पौडेलले ‘हातपात’ गरेकी छिन् ।

विद्यालयको आर्थिक गतिविधि पारदर्शिताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि विद्यालय व्यवस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् ।

पौडेलले पेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार राति नै जिल्ला अस्पताल पु¥याएका थिए । घाइते शिक्षिकाका आफन्तले शनिबार नै जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् ।

पाठ्यपुस्तकको १० हजार ८८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको ९ हजार, छात्रवृत्तिको ४ हजार ८००, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार ५९६ सहित १ लाख ३२ हजार ९३१ रुपैयाँको आयव्ययका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीको भनाइ छ । कार्की पनि सोही विद्यालयकी पूर्व प्रअ हुन् । यसअघि अप्रेसन गरेको ठाउँमा चोट लाग्दा स्वास्थ्य समस्या निम्तिएको अनुमान छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सकुन्तला खत्रीले भने आफू घटनाका बेला केही पर भएकाले लात्तीले हानेको नदेखेको बताइन् । ‘यो भन्दा अघिको बैठकमा पनि उहाँहरू बिचमा आर्थिक हिसाबको विषयमा विवाद भएको रहेछ’, खत्रीले भनिन्, ‘शुक्रबारको बैठकमा पनि त्यही विषय निस्केर विवाद भएको हो । ठेलाठेल भएको देखेँ । पछि पेट दुख्यो भन्दै उहाँ (गोमा कार्की) रुँदै हुनुहुन्थ्यो ।’