निजगढ विमानस्थल कुनैपनि बहानामा अन्यत्र सार्न मिल्दैन : मुख्यमन्त्री राउत

निजगढ, २ असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनैपनि बहानामा सार्न नमिल्ने बताएका छन् ।
निजगढमा विमानस्थल बन्नु पर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशको विकासका लागि अतिमहत्वपूर्ण निजगढ विमानस्थान सार्ने खेल आफूहरुलाई स्वीकार्य नहुने बताए ।
सर्वोच्च अदालतको पूर्ण फैसला अझै आइ नसकेकोले नआतिन निजगढ वासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्णपाठमा निजगढ विमानस्थलको लागि साकारात्मक सन्देश आउने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘निजगढ विमानस्थल बन्नुपर्नेमा हामी दृढ छौं, तर विमानस्थलको नाममा अनावश्यक रुख कटानी गर्न दिदैनौ । विश्वको सबैभन्दा ठूलो विमानस्थल होइन, नेपालको लागि सुहाउँदो विमानस्थल बनाउनका लागि प्रदेश सरकार हर सम्भव प्रतिबद्ध छ ।’
विमानस्थलको नाममा जंगल नै सिद्धयाउने चलखेल हुँदै आएको प्रति निजगढवासीलाई सचेत गराउँदै मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा सुरु गर्न/गराउनका लागि दवाव दिन आग्रह समेत गरे ।
निजगढवासीले केही दिन यता जारी राखेको चक्काजाम सहितको आन्दोलन तत्कालका लागि स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने,‘ सर्वोच्चको पूर्णपाठ नआउञ्जेल सम्मका लागि आन्दोलन स्थगित गर्नुस् । पूर्णपाठ हाम्रै पक्षमा आउछ भनेमा विश्वस्त छु । विपक्षमा आए फेरी आन्दोलन गरौंला ।’
मुख्यमन्त्री राउतले रिले अनसनमा बसेका आन्दोलनकारीहरु समेतलाई भेटेपछि सरोकार समिति चक्काजाम कार्यक्रम आजैबाट स्थगित गरेका छन् भने रिले अनसनलाई निरन्तरता दिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


