एजेन्सी, १ असार । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप छनोटमा खराब प्रदर्शनको दोष खेलाडीलाई नदिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट एसियन कपको खराब प्रदर्शनको जिम्मा आफूले लिने बताउँदै खेलाडीलाई दोष नदिन आग्रह गरेका हुन् ।

‘म चाहन्छु कि सबै दोष मलाई जाओस्, त्यसैले खेलाडीलाई दोष नदिनुहोस्,’ अलमुताइरीले लेखेका छन् । उनले टोलीमा केही सकारात्मक कुरा देखिए पनि सुधार गर्नुपर्ने ठाउँ प्रशस्त रहेको बताए ।

‘प्रिय नेपाली समर्थकहरू, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,’ उनले लेखेका छन्, ‘हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरू अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक छ ।’

कुवेतमा भएको छनोटको समूह ‘ए’ मा नेपाल अंकविहीन बनेको थियो । प्रतियोगितामा उसले १३ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सक्यो । नेपालले जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० को पराजय बेहोरेको थियो ।