दीपेन्द्रसिंह ऐरी अलराउन्डरतर्फ नवौं स्थानमा उक्लिए

काठमाडौं, १ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा नेपाली टिमका महत्वपूर्ण सदस्य दीपेन्द्रसिंह ऐरी अलराउन्डरतर्फ नवौं स्थानमा उक्लिएका छन् ।
आइसिसीले मंगलबार सार्वजिनक गरेको नयाँ वरियतामा उनी १५२ रेटिङ प्वाइन्टका साथ एक स्थान सुधार गर्दै नवौंमा उक्लिएका हुन् । नेपाली क्रिकेट इतिहासमा कुनै पनि क्रिकेटरको यो हालसम्मकै उच्च वरियता हो ।
२६७ रेटिङ प्वाइन्टका साथ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा रहँदा बंगलादेशका शाकिवअल हसन दोस्रो, इंग्ल्याण्डका मोइन अली तेस्रो, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल चौथो, इंग्ल्याण्डका लियाम लिभङ्गस्टोन पाँचौं, यूएईका रोहन मुस्ताफा छैटौं, नामिबियाका जेजे स्मिथ सातौं, ओमानका जस्शान मक्सूद आठौं र श्रींलंकाका वानिन्दु हसरंगा १० औं स्थानमा छन् ।
ब्याटिङतर्फत कुशल भुर्तेल एक स्थान सुधार गर्दै ३९ औं मा उक्लिँदा, दीपेन्द्रसिंह ऐरी ४३ र आसिफ शेख ९८ औं स्थानमा यथावत छन् ।उनीहरूको रेटिङ प्वाइन्ट क्रमशः ५०३, ४९८ र ३७४ छ । पाकिस्तानका बाबर आजम ८१८ रेटिङ प्वाइन्टका साथ वरियताको शीर्ष स्थानमा छन् ।
पाकिस्तानका मोहम्मद रिजवान, दक्षिण अफ्रिकाका एडेन मार्करम, इंग्ल्याण्डका डेविड मलान, अस्ट्रेलियाका आरोन फिन्च, न्यूजिल्याण्डका डेभन कन्वे, भारतका इशान किशन, दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेन, श्रीलंकाका पथुम निसंन्का र न्यूजिल्याण्डका मर्टिन गुप्टिल दोस्रोदेखि १० औं स्थानमा छन् ।
बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३९ औं स्थानमा यथावत रहँदा अविनाश बोहरा एक स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । उनीहरूको रेटिङ प्वाइन्ट ४९० र ३९३ छ ।
७९२ रेटिङका साथ अस्ट्रेलियाका जोस हेजलउड वरियताको शीर्ष स्थानमा रहँदा इंग्ल्याण्डका आदिल रशिद, दक्षिण अफ्रिकाका तबरिज शाम्सी, अफगानिस्तानका राशिद खान, अस्ट्रेलियाका एडम जम्पा, दक्षिण अफ्रिकाका एनरिक नोर्टजे, श्रीलंकाका वानिन्दु हसरंगा, श्रीलकांकै महेश थिक्क्षणा, अस्ट्रेलियाका एस्टन अगर र ब्रगलादेशका नासुम अहमद दोस्रोदेखि १० औं स्थानमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


