जनकपुरधाम, १ असार । प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले मधेस प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटलाई परम्परावादी र यथास्थितीवादीको संज्ञा दिएको छ ।

अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि टिप्पणी गर्दै लोसपाका प्रमुख सचेतक परमेश्वर साहले बजेटलाई परम्परावादी र यथास्थितीवादी भनेका हुन् ।

प्रमुख सचेतक साहले चुनावलाई केन्द्रीत गरेर कार्यक्रमहरु राखिएको बताए । ‘अतिआवश्यक नभएका कार्यक्रमहरु रोक्ने कुरा छैन ।अझ खर्च बढाउने कार्यक्रम राखिएको छ । कार्यक्रमहरु कार्यान्वयन हुने अवस्था छैन,’ उनले भने ।

आगामी निर्वाचनलाई प्रभावित गर्नेगरी खुद्रे कार्यक्रम राखिएको साहको तर्क छ । उनले बजेट पूर्णतया अनुत्तरदायी र हावादारी रहेको टिप्पणी गरे । ‘चुनावी सरकारको हो । चुनावी बजेट हो । चुनावी सरकारले दीर्घकालीन कार्यक्रम राखेको छ । दीर्घकालीन प्रकृतिका कार्यक्रम हावादारी छन्,’ उनले भने ।

उनले विनियोजनको हिसाबले पनि बजेट हावादारी रहेको टिप्पणी गरे । चुनाव केन्द्रीत र सीमित नेता केन्द्रीत बजेट आएको उनको जिकिर छ ।

प्रमुख सचेतक साहले बजेट कार्यान्वयन हुनमा शंका रहेको दावीसमेत गरेका छन् । उनले चुनावलाई प्रभावित गर्न वितरणमूखी र कार्यकर्तामूखी भई खुद्रे योजनालाई प्राथमिकतामा राखिएको टिप्पणी गरेका छन् ।