जनकपुरधाम, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको छ ।

अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बुधबार नवौं अधिवेशनको सातौं बैठकमा प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरणमा चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४ प्रतिशत रकम विनियोजन गरिएको छ ।

यसैगरी पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात् ०.३५ प्रतिशत विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषहरुमा रहेको संचित रकम ३८ करोड, नेपाल सरकारबाट राजश्व बाँडफाँडवापत प्राप्त ११ अर्ब ६१ करोड ५८ लाख र समानीकरणवापत प्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख रहेको मन्त्री साहले बताए ।

चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, समूिरक अनुदान ७८ करोड, संघीय सरकारबाट सशर्त योजनाको लागि प्राप्त अनुदान १० अर्ब ६ करोड ५१ लाख र यूनिसेफबाट प्राप्त हुने अनूदान ४ करोड ३३ लाख ४७ हजार गरी जम्मा ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार ब्यहोर्दा रु. १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय न्यून हुने देखिन्छ । सो न्यून पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।

यसअघि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको थियो । जसमा चालु तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत रकम विनियोजन गरिएको थियो । जसमा पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात ०.३० प्रतिशत विनियोजन गरिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा मधेस प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो । जसमा चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत रकम विनियोजन गरिएको थियो । जसमा पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत विनियोजन गरिएको थियो ।

त्यसअघि, आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याइएको थियो । जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो ।

मधेस प्रदेशको मन्त्रालयगत बजेट यस्तो छ :

१. भौतिक पूर्वाधार विकास मन्त्रालय : १८ अर्व ८ करोड ४५ लाख ६४ हजार
२. सामाजिक विकास मन्त्रालय : ७ अर्व ८० करोड ९६ लाख
३. उद्योग, पर्यटन तथा वन मन्त्रालय : ४ अर्व ८४ करोड ६४ लाख
४. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय : २ अर्व ७४ करोड २५ लाख
५. खानेपानी तथा उर्जा विकास मन्त्रालय : १ अर्व ६८ करोड ८६ लाख
६. गृह तथा सञ्चार मन्त्रालय : ६४ करोड ३३ लाख २० हजार
७. महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय : ६१ करोड ९८ लाख
८. मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय : १ अर्व ७३ कोड ९३ लाख ९१ हजार
९. अर्थ मन्त्रालय : २४ करोड ९० लाख ४५ हजार
१०.कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय : ५ करोड ३३ लाख २८ हजार
११. बाणिज्य, आपूर्ती तथा विज्ञान प्रविधी मन्त्रालय : २ करोड ६० लाख १४ हजार