एजेन्सी, ३१ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० लाख रोजगारीको घोषणा गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी एक ट्वीटमा भनिएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विभाग र मन्त्रालयहरूमा मानव संसाधनको समीक्षा गर्नुभयो र आगामी डेढ वर्षमा मिशन अन्तर्गत १० लाख मानिसहरूलाई नियुक्त गर्न आदेश दिनुभयो ।”

यता सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीको तथ्यांकअनुसार भारतमा अप्रिलमा बेरोजगारी दरमा वृद्धि भएको छ । मार्चमा बेरोजगारी दर ७.६० प्रतिशत थियो, जुन अप्रिलमा बढेर ७.८३ प्रतिशत पुगेको छ ।

सहरी क्षेत्रमा बेरोजगारी दर मार्चमा ८.२८ प्रतिशतबाट बढेर ९.२२ प्रतिशत पुगेको छ । अप्रिलमा ग्रामीण क्षेत्रमा भने बेरोजगारी दर घटेको छ। मार्चमा ७.२९ प्रतिशत थियो, जुन अप्रिलमा ७.१८ प्रतिशतमा झरेको छ ।

कार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण मन्त्रालयका राज्यमन्त्री डा जितेन्द्र सिंहले संसदमा मार्च १, २०२० सम्म ८ लाख ७२ हजार २४३ अर्थात् केन्द्रीय सरकारका विभागहरूमा करिब पौने ९ लाख पदहरू रिक्त रहेको जानकारी दिएका थिए ।

एक प्रश्नको लिखित जवाफमा उनले ०१ मार्च २०१९ सम्म ९ लाख १० हजार १५३ र ०१ मार्च २०१८ सम्म ६ लाख ८३ हजार ८२३ पद रिक्त रहेको बताएका थिए ।