जनकपुरधाम, ३१ जेठ । प्रादेशिक अस्पताल जनकपुरधामका कर्मचारीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन् ।

विगत लामो समयदेखि प्रादेशिक अस्पतालमा कार्यरत रहेका संघीय सरकार र करारका कर्मचारीहरुले तलब नपाएकोलगायतका विभिन्न विभिन्न ६ बुँदे मागसहित मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कर्मचारीहरुले ज्ञापनपत्र बुझाउँदै तत्काल तलब भत्तासहित विभिन्न सेवासुविधाहरु उपलब्ध गराउन मुख्यमन्त्री राउतसँग आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा नेपाल सरकारद्वारा प्राप्त ९० प्रकारको निःशुल्क औषधीहरू सर्वसाधारणलाई चौबिसौं घण्टा सर्वसुलभ तरिकाले अस्पताल फार्मेसीबाट निःशुल्क रूपमा वितरण हुनुपर्ने, विकास समितितर्फ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग, प्रशासन लगायत अन्य कर्मचारीहरूलाई मापदण्ड बनाई सोही अनुसार आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्नुपर्ने, हाल विकास समितिका कर्मचारीहरू स्वतः उमेर हदको कारणले अवकाश हुँदा विरामी विदा, घर विदा लगायतका सेवा अवधि जोडेर गोल्डेन हेण्डसेक सहितका सेवा सुविधा उपलब्ध गराउनु पर्ने, समितिका कर्मचारीहरूलाई नेपाल सरकारको नियमानुसार अविलम्व सामाजिक सेवा सुरक्षामा आवद्ध गर्नुपर्ने, कोभिड–१९ को बाँकी भत्ता तुरून्त उपलब्ध गराउनु पर्ने र समितिको आय व्यय मासिक रूपमा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

अस्पताल विकास समिति कर्मचारी युनियन प्रादेशिक अस्पताल इकाई समितिका अध्यक्ष मोहम्मद सफी अहमद अंसारी (लालबाबु) ले मुख्यमन्त्री राउतलाई ज्ञापानपत्र बुझाउँदै तत्काल आफूहरुको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

विगत करिव २०/२५ वर्षदेखि कार्यरत रहेका कर्मचारीहरूको हकमा अस्पताल र प्रतिष्ठान मौन रहेको भन्दै कर्मचारीको वृती विकासका साथै स्थायित्व तर्फ अगाडी बढाउन आफूहरुले ध्यानाकर्षण गराएको अध्यक्ष अन्सारीले बताए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रक्रियागत अनुसार अस्पतालका कर्मचारीको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।