एसिसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको बिदाइ

काठमाडौं, ३१ जेठ । मलेसियामा आयोजना हुने एसिसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर एसिसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुन बुधबार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाइ गरेका हुन् ।
बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एसिया कपमा छनोट भएर फर्किने बताइन् । अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश फर्किने दाबी गरिन् ।
एसिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा महिना दिनयता अभ्यास गरेको थियो । युगाण्डासँगको शृंखलापछि भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो ।
च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदै छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् । सोही लक्ष्य लिएर नेपाली टोली प्रस्थान गर्न लागेको हो ।
नेपालले प्रतिस्पपर्धा गर्ने समूहमा आयोजक मलेसियासहित, हङकङ, भुटान, बहराइन र कुवेत रहेका छन् । कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य भनेको च्याम्पियन भएर स्वदेश फर्किने रहेको र सोहीअनुसार नेपाल मौसम प्रतिकुल भए पनि तयारी गरेको बताए ।
बिदाइ कार्यक्रमपछि बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपालले राम्रो खेल पस्किनेमा विश्वस्त रहेको बताए । उनले खेलाडी र प्रशिक्षकलाई शुभकामनासमेत दिए ।
नेपाली टिमले जुन १७ मा भुटान, १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


