उदयपुर, ३० जेठ । उदयपुर जिल्लामा ४ जनालाई कालाजार संक्रमण भेटिएको छ ।

जिल्लाको रौतामाई र ताप्ली गाउँपालिका साथै त्रियुगा नगरपालिकामा कालाजारका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–१२ का १८ वर्षीय सर्तार अलिमा, रौतामाई गाउँपालिका–५ आँपटारका ५० वर्षीया अरीरत्ना राई, ताप्ली गाउँपालिका–५ रुपाटारका ११ वर्षीया शेसुका राई र ६२ वर्षीय कलबहादुर खिलिंगेलाई कालाजार देखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गत चैतमै अलिमा र अरीरत्नालाई कालाजार देखिएको थियो । अहिले पनि उपचार भइरहेको छ । कलबहादुर टेकु अस्पतालमा उपार भइरहेको छ भने शेसुकाका कान्ति बाल अस्पतालमा छिन् ।

उनीहरुका आफन्तको पनि कन्ट्रयाक्ट ट्रेसिङ गरी परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हालसम्म परीक्षण गरिएका अन्यमा कालाजार संक्रमण देखिएको छैन ।

भुसुनाको टोकाइबाट लाग्ने यो रोग लागेमा तीब्र ज्वरो, छाला कोलो हुने, पेट फुल्ने जस्ता समस्या हुन्छन् । यसबाट बिरामीको मृत्यु समेत हुनुसक्छ ।