काठमाडौं, ३० जेठ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित ८ सदस्यीय टोली सोमबार रुस प्रस्थान गरेको छ ।

मन्त्री गहतराजले सामाजिक सञ्जालमार्फत बक्सिङ फेडेरेसन अफ रसिया र रुसको खेलकुद मन्त्रीको निमन्त्रणामा ८ सदस्यीय नेपाली टोली पाँच दिने भ्रमणका लागि सोमबार मस्को प्रस्थान गरेको जानकारी दिएका हुन् ।

रुस जाने टोलीमा मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदको विभागीय प्रमुख मधुसुदन बस्नेत, मन्त्रीका निजी सचिव रोसनकुमार सुनार, संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले रहेका छन् । रुस भ्रमणको दौरान दुवै देशको खेलकूद विकास र प्रवर्द्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताइएको छ ।

नेपाल र रुसका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, बक्सिङ प्रशिक्षकहरुको क्षमता विकास र वृद्धिमा सहयोग गर्ने, नेपाल रुसबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगिता आयोजना एवं सहभागिता गराउने, रुसको स्पोर्ट्स साइन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गर्ने, हिमालय क्षेत्र पदयात्रा एवं दौडको आयोजना गर्ने, खेलकुदबाट पर्यटन प्रवर्द्धनका विविध विधा हरुमा छलफल गर्ने र नेपालमा हाई अल्टिच्युट बक्सिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेपाली टोलीले रुसी खेलकुद मन्त्री ओलेग मात्यित्सन, अन्तराष्ट्रिय बक्सिङ फेडेरेसनका अध्यक्ष उमार क्रेमलेम लगायतका विभिन्न व्यक्ती, नेपाली एनआरएनए टोली र मस्कोस्थित नेपाली दूतावाससँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली तीन असारमा स्वदेश फर्कने छ ।