काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यालय १४० दिनपछि सञ्चालनमा आएको छ ।

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो ।

त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए । ’ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ,’ उनले भने, ’अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ ।’

तालाबन्दीका कारण त्रिविका पदाधिकारी कार्यालय आएर काम गर्न सकेका थिएनन् । उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए । नेपाल विद्यार्थी संघले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरुले जेठ २९ गते ताला खोलेका थिए ।

प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए । यस्तै, अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो ।

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसंघले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका थिए ।