तमलोपाद्वारा संघीय संसदविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

जनकपुरधाम, ३० जेठ । तराई मधेस लोकतान्त्रिक पार्टीले संघीय संसदको विरुद्धमा जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।
संघीय संसदसँग नागरिकता विधेयक पारित गर्न माग गर्दै तमलोपाले विरोध प्रदर्शन गरेको हो ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले नागरिकताको हक बन्धकी राख्ने अधिकार कसैसँग नरहेकोले यसलाई यथाशिघ्र पारित गर्न माग गरेका छन् ।
नागरिकता विधेयक विगत लामो समयदेखि संघीय सांसदहरुकै कारण पारित हुन नसक्दा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तानहरुलाई निकै समस्या झेल्नु परेको उनले दुःखेसो सुनाए ।

उनले नागरिकताविहीन नागरिकको समस्या समाधान गर्न संघीय सांसदहरु जिम्मेवार नभएको आरोपसमेत लगाए ।
उनले नागरिकता विधेयक अहिलेसम्म पारित हुन नसक्नुमा सबभन्दा ठूलो दोषी संघीय संसद रहेको आरोप लगाउँदै सार्वभौम जनताका प्रतिनिधि संघीय संसदले जनताका निमित्त छिटो छरितो आवश्यक कानूनको निर्माण गर्नुपर्नेमा त्यसो नगरेको जिकिर समेत गरेका छन् ।

नेपालको कानूनको धारा ३०४ ले यस्तो कानून बनाउन निर्देशित गरेपनि विभिन्न जालझेलहरु हुनु आफैमा दुःखद रहेको उनको टिप्पणी छ । संघीय संसदले नागरिकता विधेयकलाई विगत ४ वर्षदेखि रोकेर राख्नु दुःखद रहेको अध्यक्ष लालले बताए । उनले राज्यको तिनवटै अंग यस षडयन्त्रमा सहभागी रहेको उनको आरोप छ ।
अध्यक्ष लालले संघीय सांसदहरुलाई नागरिकता विधेयक यथाशिघ्र पारित गर्न आग्रह गर्दै समस्याको निकास चाँडो भन्दा चाँडो ननिकालिए तमलोपाले आगामी दिनमा चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

स्थानीय जनकचोकबाट निस्केको जुलुस सोनारपट्टी, रामचोक, विद्यापति चोक, विसहारा चोक, कदमचोक, भानुचोक, शिवचोक हुँदै पुनः जनकचोकमा पुगेर समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


