भारतविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका ७ विकेटले विजयी

एजेन्सी, २७ जेठ । घरेलु टोली भारतविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा भारतले दिएको २११ रनको बलियो लक्ष्य दक्षिण अफ्रिकाले १९.१ ओभरमा पूरा गर्यो ।
दक्षिण अफ्रिकाको यो कीर्तिमानी जित हो । उसले यसअघि टी–२० मा २१२ रनको लक्ष्य पूरा गर्न सकेको थिएन । दक्षिण अफ्रिकालाई कीर्तिमानी जित दिलाउने क्रममा डेविड मिलर र रस्सीभानडर दुसेनले शानदार ब्याटिङ गरे । ४६ बलमा सात चौका र पाँच छक्का हिर्काएका दुसेनले अविजित ७५ रनको पारी खेले ।
मिलरले ३१ बलमा चार चौका र पाँच छक्कासहित अविजित ६४ रनको योगदान दिए । दुसेन र मिलरले चौथो विकेटका ६४ बलमा अविजित १३१ रनको साझेदारी गरे । त्यस्तै, ड्वेन प्रिटोरियसले २९, क्विन्टन डिककले २२ र कप्तान तेम्बा बावुमाले १० रनको योगदान दिए । भारतका लागि हर्षल पटेल, अक्षर पटेल र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।
त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । उसका लागि इशान किशनले उत्कृष्ट पारी खेले । ४८ बलको सामना गरेका उनले ११ चौका र तीन छक्कासहित सर्वाधिक ७६ रन बनाए ।
त्यस्तै, श्रेयस अय्यरले ३६, कप्तान ऋषभ पन्तले २९, हार्दिक पाण्ड्याले १२ बलमा अविजित ३१ र ऋतुराज गायकवाडले २३ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि केशव महाराज, ड्वेन प्रिटोरियस, वार्ने पावेल र एनरिक नोर्टजेले एक/एक विकेट लिए ।
यो जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो खेल आइतबार हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


