शुक्रबारबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई बुस्टर डोज दिन सुरु

काठमाडौं, २७ जेठ । सरकारले शुक्रबारबाट बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिन सुरु गरेको हो ।
पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय जेठ २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको थियो ।
१२ देखि १७ वर्षसम्मका व्यक्तिलाई सरकारले पहिलो तथा दोस्रो डोज मोर्डना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज शुक्रबारबाट सञ्चालन गरिएको बताए ।
‘१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोर्डना तथा फाइजर जुन लगाएपनि हुन्छ,’ दाहालले भने,’ पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यलयमा कार्यक्रम सञ्चालन गरिएको हो ।’
फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । महाशाखाका अनुसार बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


