युएई यू–१९ महिला टि–२० विश्वकपको लागि छनोट

एजेन्सी, २६ जेठ । युएई आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ महिला टि–२० विश्वकपको लागि छनोट भएको छ ।
मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा थाइल्याण्डलाई ६ विकेटले युएईले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
८५ रनको लक्ष्य युएईले १७.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । युएईकी कप्तान थिर्थ सतिश ३८ बलमा ४ चौकासहित ३८ रनमा अविजित रहिन् । वैष्णवी महेशले २१ रन जोडिन् । थाइल्याण्डका लागि थिपाच्चा पुथवानले दुई विकेट लिइन् ।
त्यसअघि किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । थाइल्यान्डकी फनिता मायाले ३९ बलमा ६ चौका सहित सर्वाधिक ४० रन बनाइन् । ननाफाता चौहानले १४ रन जोडिन् ।
युएईका लागि वैष्णवी महेश र महिका गौरले दुई÷दुई तथा इन्दुजा नन्दाकुमार र अविनी पाटिले एक/एक विकेट लिए । युएई ६ टोली सहभागी छनोटका पाँच खेलमा शतप्रतिशत जितका साथ शीर्षस्थानमा रहँदै विश्वकपमा पुगेको हो ।
यसअघि युएईले भुटानलाई १६० रन, नेपाललाई १०, मलेसियालाई ९ र कतारलाई १० विकेटले हराएको थियो । नेपाल पाँच खेलमा तीन जित र दुई हारको नतिजासहित ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


