काठमाडौं, २५ जेठ । मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ माथि फिल्म बन्ने भएको छ ।

विनोद विष्टले पुस्तकमा माथि फिल्म बनाउन लागेका हुन् । ‘खलंगामा हमला’ राधा पौडेलले झण्डै दुई दशक अघि जुम्लाको खलंगामा घटेको घटनाको बिषयमा लेखेको पुस्तक हो ।

निर्देशक विष्टले राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरेका हुन् । विष्टले यसअघि झमक घिमिरेको पुस्तक ‘जीवन काँडाकी फूल’ माथि फिल्म बनाएका थिए । ‘यसअघि धेरैबाट पुस्तकमाथि फिल्म बनाउ माग गरिएको थियो’ लेखिका पौडेलले भनिन् ‘विनोद दाइले यसअघि बनाएको जीवन काँडा कि फूल हेरेपछि उहाँलाई विश्वास गर्न सके ।’

निर्देशक विष्टले जीवन काँडा कि फूल बनाइसकेपछि धेरै पुस्तक पढेको र ‘खलंगामा हमला’ पुस्तकले आफ्नो मन छोएको बताए । विष्टले खलंगामा खासमा के भएको थियो भन्ने विषयमा आममानिसमा जिज्ञासा रहेको र त्यो कुरालाई आफूले फिल्ममा विशेष तरिकाले देखाउने सुनाए ।

निर्देशक विष्टले फिल्ममा अभिनय गर्ने कलाकार तय हुन बाँकी रहेको जानकारी दिए । उनका अनुसार यो फिल्म निर्माणका लागि तीन करोड बजेट छुट्याइएको छ । फिल्म जुम्ला र चितवनमा छायाङ्कन हुनेछ । लेखिका पौडेलको यो पुस्तक २०१३ मा सार्वजनिक भएको थियो ।