सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा कोरोनाविरुद्धको खोप दिने

काठमाडौं, २५ जेठ । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा कोरोनाविरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने जानकारी दिए । खोप केन्द्र विद्यालयहरुमा रहने उनले बताए ।
उनका अनुसार पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप दिइनेछ । असार ९ देखि ११ गतेसम्म ती जिल्लाका बालबालिकालाई पहिलो मात्रा खोप दिइनेछ भने सोही जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने जनाइएको छ ।
यसैगरी दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालिकालाई भदौ ५ देखि ११ गतेसम्म खोप दिइनेछ भने उनीहरुलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।
बालबालिकालाई लगाइन लागेको खोप कोभ्याक्ससुविधा मार्फत अमेरिकाले नेपाललाई दिएको खोप हो ।
हालसम्म नेपालमा कुल जनसंख्यामध्ये २ करोड २४ लाख ५२ हजार ८९४ जना (७६.९) प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने १ करोड ९९ लाख ५३ हवार २७ हजार ३०४ जना अर्थात् (६८.४) प्रतिशतले पूर्ण मात्रा खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


