जनकपुरधाम, २५ जेठ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

बुधबार बसेको नवौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनी बैठकमा मुख्यमन्त्री लालबाबु राउतले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

सभामुख सरोज कुमार रायले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कसैले पनि आवाज उठाएनन् ।

मधेस प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २२ गते आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरु सुन्दर बहादुर बिश्वकर्मा, बच्चा राउत अहिर, परमेश्वर साह र बाबुलाल साह कानूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

जेठ २२ गते प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा मंगलबार र बुधबार गरी दुई दिन छलफल भएको थियो ।