एजेन्सी, २५ जेठ । भारतीय महिला क्रिकेट टोलीकी सफल खेलाडीका रुपमा चिनिएकी मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् ।

उनले बुधबार सामाजिक संजालबाट आफ्नो २३ वर्षे अन्तराष्ट्रिय खेल जीवनलाई बिट मार्ने घोषणा गरेकी हुन् ।

‘वर्षौंदेखिको माया र समर्थनको लागि धन्यवाद ! म तपाईंहरुको आशीर्वाद र समर्थनका साथ दोस्रो इनिङको प्रतीक्षामा छु,’ सन्यास घोषणा गर्दै उनले लेखेकी छिन् ।

३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–२० अन्तराष्ट्रिय खेलेकी छन् ।

सन् २००९ मा आयरल्याण्डविरुद्धको एकदिवसीय खेलमार्फत आफ्नो अन्तर्राष्ट्रिय करिअरको सुरुवात गरेकी मिथालीका लागि यही वर्ष दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तिम अन्तर्राष्ट्रिय खेलका रुपमा रह्यो ।

उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सात शतक र ६४ अर्धशतकीसहित ७ हजार ८०५ रन बनाएकी छन् ।

उनले पहिलो टी–२० अन्तर्राष्ट्रिय सन् २००६ तथा अन्तिम सन् २०१९ मा इंग्ल्याण्डविरुद्ध खेलेकी थिइन् । यो प्रारुपमा उनले १७ अर्धशतकसहित २ हजार ३६४ रन बनाएकी छन् ।

सन् २००२ मा इंग्ल्याण्डविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेकी मिथालीले अन्तिम टेस्ट सन् २०२१ मा अस्ट्रेलियाविरुद्ध खेलेकी थिइन् । यसमा उनले १ शतक र चार अर्धशतकसहित ६९९ रन बनाएकी छन् ।