जनकपुरधाम, २५ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पूनः निर्धारण गर्नुपर्ने बताएका छन् ।

बुधवार जनकपुरधाममा प्रेस मन्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीसमेत त्रुटीपुर्ण रहेको बताए । उनले समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटीपुर्ण रहेको दावी गर्दै गलत प्रणालीका कारण नै निर्वाचन अत्यधिक खर्चिलो रहेको जिकिर गरेका छन् ।

संसदको निर्वाचन क्षेत्र निर्धारण भएको समयमा मधेसको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ४६ प्रतिशत रहेको र सोही अनुसार संघीय निर्वाचन क्षेत्र निर्धारण भएको उनले बताए ।

‘अहिलेको जनगणनाको रिपोर्ट अनुसार तराइ मधेसको जनसंख्या ५३ प्रतिशत छ । तर प्रतिनिधिसभाको क्षेत्र त्यही छ जुन ४६ प्रतिशत हुँदा थियो’, उनले भने, ‘अब ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि त्यस अनुसारको निर्वाचन क्षेत्र हुनुपर्यो । हामीले निर्वाचन क्षेत्रलाई पूनः रिभ्यु गर्नका लागि भनिरहेका छौँ । पहिला रिभ्यु गरौँ त्यसपछि निर्वाचन क्षेत्र निर्धारण गरौँ ।’

विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र जातिवाद, पावरको कुनै स्थान नरहेको भन्दै उनले नेपाल जस्तो गरिब मुलुकमा विकृतिमुलक र महगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठने खतरा बढ्दै जानेलगायतका समस्याहरू रहेको उनले बताए ।

अर्को प्रसंगमा बोल्दै उनले वर्तमान पाँच दलिय गठबन्धन कायम नै रहने र प्रदेश तथा संघीय निर्वाचनमा यसै गठबन्धनबिच तालमेल हुने बताए ।

उनले गठबन्धनले लोकतन्त्रलाई संस्थागत गर्न सफल भएको बताए ।

अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपा नेपाललाई पाँच दलिय गठबन्धनमा समावेश गरे जसपाले त्यस निर्णयलाई स्वागत गर्नेसमेत बताए ।

उनले मधेसको विकासका लागि फुटेर नभई जुटेर अगाडि बढ्न आहवान समेत गरे ।

अध्यक्ष यादवले लोसपालाई एकताका लागि कुनै पनि बेला स्वागत गर्न आफुहरू तयार रहेको बताए ।