एजेन्सी, २३ जेठ । यूइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा नर्वे विजयी भएको छ ।

नर्वे लिग ‘बी’ अन्तर्गत समूह चारको खेलमा घरेलु टोली स्विडेनविरुद्ध २–१ ले विजयी भएको हो ।

फ्रेन्ड्स एरिनामा नर्वेलाई जित दिलाउन दुवै गोल एर्लिङ हालान्डले गर्दा घरेलु टोलीका लागि एन्थोनी एलंगाले एक गोल फर्काए । खेलको २० औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा उनैले पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

थप गरिएको समयमा एलंगाले स्विडेनका लागि सान्त्वना गोल फर्काए । योसँगै लगातार दोस्रो जित निकालेको नर्वे दुई खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ ।

पहिलो पराजय बेहोरेका स्विडेन समान खेलबाट तीन अंकका साथ तेस्रोमा छ । यही समूहको अर्काे खेलमा सर्वियाले स्लोभेनियामाथि ४–१ को सहज जित निकाल्यो ।

लिगअन्तर्गकै अन्य खेलमा माल्टा, पोर्चुगल, नर्थ म्यासेडोनिया, जर्जिया र ग्रीसले जित हात पर्दा स्पेनले चेक रिपब्लिक तथा नेदरल्यान्ड्सले साइप्रससँग बराबरी खेले ।