काठमाडौं, २३ जेठ । नेपालले आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा दोस्रो जित हात पारेको छ ।

दोस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार भुटानलाई चार विकेटले हराएको हो ।

६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि सानु राजवंशीले अविजित रहँदै सर्वाधिक ३० रनको योगदान दिइन् । उनले ३२ बलमा ५ चौका प्रहार गरिन् ।

साना प्रवीनले १२ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भुटानका लागि सांगे वाङग्मोले तीन तथा अञ्जुली घले र सोनमले एक÷एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६६ रन बनाएको थियो । उसका लागि कप्तान नङ्गवान छोडेन र सांगे वाङ्ग्मोले समान ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान कृतिका मरासनी, अनु कडायत र मनिषाकुमारी उपाध्ययले दुई/दुई विकेट लिए । यो जितसँगै नेपालले तीन खेलमा चार अंक जोड्दा लगातार तेस्रो पराजय बेहोरेको भुटान अंकविहीन छ ।

यसअघि नेपालले कतारले ७९ रनले हराउँदा यूएईसँग १० विकेटको फराकिलो पराजय बेहोरेको थियो । अब उसले चौथो खेल मंगलबार थाइल्याण्डविरुद्ध खेल्नेछ ।