काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ ।

पार्टीको सचिवालय बैठकको निर्णयअनुसार यसअघि सरकारमा रहेका चार नेतालाई फिर्ता बोलाएर मन्त्रीका लागि चार नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको हो ।

आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट देउवा सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीका नेता डा. विजय पौडेलका अनुसार हाल कायम रहेका मन्त्रीहरूलाई फर्काएर नयाँ सिफारिस गर्ने निर्णय भएको हो ।

सचिवालय बैठकको निर्णयअनुसार जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य, मेटमणि चौधरी शहरी विकास र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिँदै नाम सिफारिस गरिएको नेता पौडेलले बताए ।

सरकारमा सहभागी स्वास्थ्य मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्ण श्रेष्ठलाई फिर्ता बोलाइएको छ ।